महोत्तरी, पुस २० :

चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ ।

गौशाला- १ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो ।

यसपालिको सिजनलाई सरकारले तोकेको मूल्यमा किसानले मन कुँड्याएका छन् । गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धि गरिनुपर्ने किसानको माग भए पनि सरकारले भने प्रतिक्विन्टल २० वृद्धि गरेको छ । 

आफ्नो उत्पादनले उचित मूल्य नपाएको गुनासो पोख्ने किसानले भुक्तानी भने उद्योगले तौल भएको एक साताभित्रै गरिदिँदा राहत महसुस गरेको जनाएका छन् ।

 यसपालि उखुको मूल्य पाँच सय ८५ प्रतिक्विन्टल तोकिएको छ । गत वर्ष यो मूल्य पाँच सय ६५ प्रतिक्विन्टल थियो । यसबाहेक सरकारले प्रतिक्विन्टल  ७० अनुदानवापत दिनेछ । यो अनुदान रकम भने सरकारले दसैँ, तिहार पर्वका बेला पारेर दिँदै आएको छ ।

गत मङ्सिर २६ गतेदेखि उखु क्रसिङ थालेको चिनी मिलले यसबीचमा तीनपटक भुक्तानी दिइसकेको छ । 

मूल्यमा त हामी थिचिएकै हौँ, तर भुक्तानी भने उद्योगले निकै सजिलो बनाएको छ, उखु तौल भएको साता नकट्दै खातामा रकम आइसक्छ”, भङ्गाहा- ४ का किसान अरुण गिरी भन्छन्, “पछिल्ला दुई वर्षयता सहज हुँदै गएको भुक्तानी प्रक्रियाले नै उखुखेतीमा जाँगर जोडेको छ ।” 

त्यसअघि उखु तौल भएको वर्ष दिनसम्म भुक्तानी नपाएर रुँदै हिँड्नुपरेको दुःख अहिलेको सहज भुक्तानीले बिर्साइदिएको किसान बताउँछन् ।

उद्योगले यसपालि क्रसिङ थालेको तीन साताभित्र नै तीनपटक भुक्तानी दिइसकेको छ भने चौथो पटकको भुक्तानी दिने तयारी गरेको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताए ।

उद्योगले पुस १० सम्म तौल भएको उखुको जम्मा २५ करोड छ लाख १३ हजार नौ सय ८६ भुक्तानी गरिसकेको जनाएको छ ।

उखु उत्पादक किसानका प्रतिनिधि संस्थाले मूल्यमा आफुहरुको माग सरकारले नसुनेको गुनासो गर्दै आएका छन् ।