काठमाडौं, पुस २५ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । नेवा: देय्: दबूयाले नेवा एकता दिवसका अवसरमा बुधबार टोखामा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेवा समुदायभित्र विविधता भए पनि विविधिताभित्र एकता भएको उनको भनाइ थियो । ‘भाषा, संस्कृति,पहिचान जोगाउन नेवा देय् दबूयाले काम गरिररहेको छ ।  यो अत्यन्त सकारात्मक छ । निरन्तरता पाओस्,’ उपप्रधानमन्त्री सिंहले भने,‘आफ्नो वेशभूषा, कलासंस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।’

त्यस्तै फरक सन्दर्भमा उनले समयको मागअनुसार जनताको चाहनाबमोजिम विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुने पनि बताए । संविधान जारी हुँदाको अवस्था सम्झँदै उपप्रधानमन्त्री सिंहले दुईपटक संविधानसभा विघटन भएपछि पेचिलो अवस्थामा संविधान जारी भएको स्मरण गरे । ‘विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ । संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ,’ उनले भने, ‘संविधानले दिएका अधिकारको उपयोग गर्दै, सुरक्षित गर्दै जानुपर्छ । संविधानलाई थप प्रभावकारी बनाउन र जनतालाई अझ धेरै अधिकार दिनका लागि संशोधन हो ।’

कार्यक्रममा वक्ताहरुले संविधानले आदिवासी जनजातिलाई अझै सम्बोधन गर्न बाँकी रहेको बताएका थिए । ‘सरकारलाई सुनाउनुपर्ने कुरा सुनाउनुभएको छ । डेमोक्रेटिक सिस्टमले सबैले आफूलाई लागेको कुरा भन्न पाउँछन् । यो नै यसको सुन्दरता हो । मैले गर्न सक्ने काम गर्छु,’ सिंहले भने ।