पूर्वी नवलपरासी, पुस २७ :

तराईका जिल्लाहरुमा शीतलहरले जनजीवन प्रभावित बनाएको छ । बाक्लो हुस्सुसँगै शीतलहरका कारण स्कुल, कलेज जाने विद्यार्थीदेखि बालबालिका तथा ज्येष्ठ नागरिकहरुले सास्ती भोग्नुपरेको छ ।

पूर्वी नवलपरासीमा शीतलहरबाट प्रभावितलाई न्यानो कपडा वितरणदेखि सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले शीतलहरबाट प्रभावितहरुलाई न्यानो कपडा बाँडेको हो । समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार जिल्लाको चार नगरपालिका र चार गाउँपालिकाको ३७ स्थानमा न्यानो कपडा वितरण नजिकको प्रहरी कार्यालयमार्फत गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी, जिल्ला उद्योग वाणिज्य महासंघ गैंडाकोटको सहयोगमा शीतलहरबाट प्रभावितहरुलाई ब्लाङ्केट र कम्बलसहित न्यानो कपडा प्रभावित क्षेत्रमा पठाएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । 

अहिलेसम्म ५० घरपरिवारका दुई सय जनालाई पुग्ने गरी न्यानो कपडा बाँडिएको छ । योसँगै शीतलहरबाट बच्न जनचेतनामूलक सूचना प्रकाशन गर्ने, सडक तथा विभिन्न स्थानमा हिँडडुल गरी बस्ने व्यक्तिलाई न्यानोका लागि वन कार्यालयको सहयोगमा आगो ताप्ने व्यवस्था गर्ने गरिएको पोखरेलको भनाइ छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयले जनप्रतिनिधिहरु तथा सामुदायिक वनसँगको समन्वयमा आगो ताप्ने व्यवस्था मिलाएको छ । कावासोती, मध्यविन्दु, देवचुली, गैंडाकोट नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न २४ स्थानमा आगो ताप्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) जेसी शाहले जनाए ।