
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोधेकाे स्पष्टीकरणकाे बदलामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रालयमा कार्यसम्पादन विवरण बु्झाएका छन् ।
घिसिङले स्पष्टीकरण पेश गर्न पाएको एक साताको समयावधि भन्दा तीन दिनअघि नै कार्यसम्पादनको विवरण मन्त्रालयलाई दिएका हुन् । घिसिङले बुझाएको आफ्नो कार्यसम्पादन विवरणमा ९८.९९ प्रतिशत अंक दाबी गरेका छन्।
सरकारले सोधेका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र आफ्नो कार्यसम्पादन मूल्यांकनसमेत समयमा नबुझाएको आरोपसहित अब ‘तपाईंको नियुक्ति नै अन्त्य किन नगर्ने’ भन्दै एक साताको म्याद दिएर घिसिङलाई पत्र काटिएको थियो ।ऊर्जामन्त्री खड्काले गत आइतबार ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।
आफूसँग गरिएको कार्यसम्पादन करारअनुरुप पदबाट हटाउने तयारी सरकारले गरेको घिसिङकाे बुझाइछ । गत २०७८ साउन २५ को मन्त्रिपरिषद् निर्णयबाट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि दोस्रो पटक नियुक्त गरिएको थियो ।