
प्रधानमन्त्री केपी ओलीले हस्तकलाजन्य सामग्रीहरुको निर्यातमा बढी जोड दिनुपर्ने बताएका छन् ।
काठमाडौंमा नेपाल हस्तकला महासंघको ४४औं वार्षिक साधारणसभामा शुक्रबार प्रधानमन्त्री ओलीले नेपालले हस्तकलाजन्य सामग्रीहरुको निर्यात बढाउन आवश्यक काम गरिरहेको दाबी गरे । उनले आन्तरिक बजारमा भन्दा निर्यातमा जोड दिन पनि हस्तकला महासंघलाई आग्रह गरे ।
हस्तकला उद्योगलाई अघि बढाउन आफ्नो निर्वाचन क्षेत्रमा सिलाइ, कपडाजन्य उद्योगहरु सञ्चालनका लागि सहयोग गरिरहेको बताए । उनले हस्तकलाजन्य सामग्रीहरुले महिलालाई आत्मनिर्भर बनाउन, आय बढाउन र आत्मनिर्भरता बढाउन सहयोग पुग्ने बताए ।
‘यसले आन्तरिक बजारलाई पनि लिएको छ । त्योभन्दा बढी यसले निर्यातमा जोड दिनुपर्छ । निर्यातका लागि, निर्यात वृद्धिका लागि के गर्नुपर्छ त्यसमा सरकार ध्यान दिइरहेको छ । यसमा ध्यान दिने नै छ । यहाँहरुसँग भेट नहुँदा पनि हामीले कसरी हस्तकला उद्योगलाई अघि बढाउने भन्ने सन्दर्भमा मैले आफ्नो निर्वाचन क्षेत्रमा केही व्यवसायका रुपमा चलाउन खोजेको छु,’ उनले भने, ‘कपडा उद्योग, साबुन उद्योग, सिलाइ उद्योग भयो । जसमा बढी महिलाहरु रोजगारी हुन्छन् । जसले गर्दा महिला सशक्तीकरण हुन्छ । महिलाको आय, महिलाको आत्मनिर्भरता बढ्छ । जसले सामाजिक उत्थानमा नै असाधारण योगदान गरेको छ ।’
प्रधानमन्त्री ओलीले नेपाल कलाको इतिहास बोकेको देश भएको बताए । उनले कलाका लागि नेपाल प्रसिद्ध भएको उल्लेख गरे । आयात प्रतिस्थापनका लागि उपभोग्य वस्तुहरुको उत्पादन स्वदेशमै गर्न सकिने उनको दाबी छ ।