
अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘खेल’ को रिलिज मिति तय गरी अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्र २०८२ वैशाख १२ गते रिलिज हुने घोषणा गरिएको छ । चलचित्रमा पन्तसँगै हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम र निकिता आचार्यको प्रमुख अभिनय छ ।
चलचित्रलाई बलिउडका दर्जन बढी चलचित्रमा सह-निर्देशन गरेका अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह-निर्देशकका रूपमा कार्यरत आस्था श्रेष्ठले संयुक्त निर्देशन गरेका छन् । यसमा भोलाराज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरे लगायतको पनि अभिनय छ ।
रोयल भीमसेनले डिजाइन गरेको ‘खेल’को पोस्टरमा रहस्य र थ्रिलरले भरिएको विद्यालय जीवनका किशोरीको कथा प्रस्तुत गर्ने सशक्त दृश्यात्मक झल्को दिन्छ । अभिनेत्री सुरक्षा पन्त पोस्टरको केन्द्रमा छन् । जसले उनको चरित्रको महत्त्वलाई संकेत गर्छ । पोस्टरको पृष्ठभूमिमा देखिएको पाँचकोणीय तारा र अन्धकार वातावरणले चलचित्र रहस्य, डर वा थ्रिलर विधासँग सम्बन्धित रहेको देखाउँछ ।
पोस्टरको माथिपट्टि ‘Been 6 years, still missing’ लेखाइले कुनै हराएको व्यक्तिको कथा वा अनुसन्धानको कथा समेटिएको अनुमान गर्न सकिन्छ । कलाकारको हातमा देखिने गितारले पात्रको रुचि र पोस्टरको पिँधमा देखिएको पुरानो बस भित्रबाट आइरहेको प्रकाशले थप रहस्य थपेको आभास हुन्छ । चलचित्रको शीर्षकमा प्रयोग भएका नेपाली अक्षर र रातो रङको उपयोगले शीर्षकको गम्भीरता र रहस्य देखिएको छ ।
नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्स माहोलसँग जोडिएको कथा रहेको यो चलचित्रमा चार साथीको कथा छ । जसलाई आफ्नै विगतको एक भयानक घटनाले पछ्याइरहेको हुन्छ । उनीहरूले डरलाग्दा र अलौकिक घटनाहरूको सामना गर्नुपरेको हुन्छ । यसमा कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानि हुन्छ भन्ने दर्शाउन खोजिएको छ ।
अभिनेत्री सुरक्षा पन्तले गुणस्तरीय चलचित्रमा काम गर्न पाउँदा खुसी रहेको जनाइन् । उनले चलचित्रको कथाबारे भनिन्, ‘अध्ययनका लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानि पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो । चार केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु ।’
निर्माता लुइसराज महर्जनले विश्वका ठुला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउन सक्ने प्रविधिमा यो चलचित्र तयार गरिएको बताए । यसको लागि नेपालमा उपलब्ध नभएका क्यामेरा लेन्ससहित केही छायांकन सामग्रीहरू भारतबाट ल्याइएको उनले जनाए ।
चलचित्रको कथा आशिषराज महर्जनले तयार पारेका हुन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका छन् भने संवाद विष्णु गैरेले लेखेका छन् । छायांकन रोशन राई र सञ्जय लामाले गरेका छन् । सम्पादन आशिषराज महर्जनले गरेका छन्, ध्वनि डिजाइन विकल प्रधानको छ । चलचित्रको वितरण डीसीएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गर्नेछ ।