काठमाडाैं, पुस २९ :

भारतले नेपाली वस्तुको निर्यातमा सहजीकरण गर्ने भएको छ । नेपाल–भारत वाणिज्य सचिव स्तरिय बैठकमा नेपाली बस्तुको निर्यातमा सहजीकरण गर्ने लगायतका १५ बुँदे सहमति भएको छ ।

काँकडभिट्टा– फुलबारी–बंगलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारी साधनमा लगाईएको भार वहनको सीमाहटाई भारतीय मालवाहक गाडी सरह आवत जावत गर्न दिन भारतीय पक्ष सहमत भएको मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले बताए । यसअघि बढी भारवहन क्षमताका नेपाली मालबाहक सवारी साधनलाई आउजाउमा राेक लगाइएकाे थियाे ।

हाल भारतमा निकासी हुने नेपाली वस्तुहरु  जुत्ता, प्लाईउड, यार्न, सेनेटरी प्याड, सिमेन्ट, जस्तापाता र स्टिलजन्य वस्तु को सहज निकासीका लागि प्राथमिकताका आधारमा बीआईएस प्रमाण पत्र जारी गर्ने र नवीकरण गर्ने प्रक्रियालाई तीव्रता दिन भारतीय पक्ष सहमत भएको सहसचिव अधिकारीले बताए।

बैठकमा नेपालको तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की र भारतीय पक्षबाट वाणिज्य सचिव सुनिल बर्थवालले नेतृत्व गरेका थिए ।