काठमाडौं, माघ १ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस चलिरहेको छ । सरकारी वकिलको तर्फबाट बहस सकिएको हुँदा अहिले जाहेरवालाको बहस सुरु भएको छ । 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा चलेको बहसमा जाहेरवालाको पक्षबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरिरहेका छन्। सुरुवाती बहस सरकारी वकिलहरुबाट भएको थियो । 

सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापा लगायतले बहस गरेका छन् । सरकारी वकिलहरूले प्रतिवादी (रवि लामिछाने) लाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् ।

लामिछानेविरुद्द सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा भएकोको हुँदा प्रतिवादीलाई अहिले नै थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने सरकारी वकिलहरुको तर्क थियो। सरकारी वकिलहरुले कास्की जिल्ला अदालतको आदेशलाई पनि ख्याल गर्दै थुनाबाट छाड्न नहुनेमा जोड दिएका छन्  । 

सहकारी पीडितहरूको न्यायका लागि पनि प्रतिवादीलाई थुनामै पठाउनुपर्ने तर्क सरकारी वकिलहरूले गरेका छन् । पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ अदालतमा आफैँ उपस्थित हुन पुगेका थिए।