
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा खेल पर्यटनको राम्रो सम्भावना भएकाले यसलाई प्रवर्धन गर्नुपर्ने बताएका छन् ।
सिन्धुपाल्चोकको सुकुटेमा आज (मंगलबार) देखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा पर्यटन विकासका लागि विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गरे । उनले यसमा खेलकुदलाई जोडेर लैजान सक्नु थप महत्त्वपूर्ण काम हुने धारणा राखे ।
पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रिय भलिबल सुरु हुनु खेल पर्यटनका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अन्य पर्यटकीयस्थलहरुमा पनि जहाँ जे सम्भावना हुन्छ, त्यसलाई अघि बढाएर लैजानुपर्ने बताए ।
आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको प्रवर्धनका लागि बढी मिहिनेत गरेको स्मरण गराउँदै उनले खेल देश र स्वास्थ्यका लागि भएकाले खेल क्षेत्रको जति विकास गर्यो, समाज त्यति नै सभ्य, अनुशासित र जनता स्वस्थ हुँदै जाने बताए । अध्यक्ष दाहालले राष्ट्रिय एकता प्रवर्धन गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न पनि खेल क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताए ।
आफूले क्रिकेट, फुटबल, करातेलगायत विभिन्न विधाका खेलको प्रवर्धनलाई महत्त्वका साथ लिएको उल्लेख गर्दै दोस् पटक प्रधानमन्त्री भएका बेलामा भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गराएको स्मरण गरे ।
उनले यस क्षेत्रको भौतिक पूर्वाधारको विकास र राजनीतिक विकास अघि बढाउन निरन्तर मिहिनेत गरिरहेको दाबी गरे । नेपालको व्यापारिक इतिहासमा महत्त्वपूर्ण रहेको तातोपानी नाका भूकम्पपछि बन्द भएको र यो अब नखुल्ने हो कि भन्ने निकै चिन्ता बढेपछि आफूले चिनियाँ राष्ट्रपतिसँग तीनपटक वार्ता गरेको जानकारी दिँदै उनले राष्ट्रपतिकै चासोका कारण खुल्ने अवस्थामा पुगेको दाबी गरे ।
आफूले यस क्षेत्रको विकासका लागि केही न केही भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले हिजो मात्रै आफू सुकुटे पुगेपछि पनि पार्टीका स्थानीय नेता र जनप्रतिनिधिहरुले बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा सरकारको चासो नदिएको गुनासो गरेपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई फोन गरेर ध्यानाकर्षण गराएको र अब सडक बन्नेतिर अघि बढेको बताए ।
सुकुटेको पर्यटन प्रवर्धनका अभियान चलाएको उल्लेख गर्दै दाहालले पार्टीको स्थायी समिति बैठक एक सातासम्म चलाउनुका साथै पटकपटक आउने गरेको स्मरण गराए । ‘हामीले पार्टी बैठक हुँदै सुरु गरेको यो अभियानका कारण आजसम्म आउँदा सुकुटे र सिन्धुपाल्चोकमा आन्तरिक पर्यटन प्रवर्धन नयाँ ढंगले अघि बढ्नु मेरा लागि पनि गर्वको विषय हो,’ उनले भने, ‘अहिले सुकुटे करिडोरकै रुपमा व्यवसायको व्यापक विकास भएको छ । अब आधिकारिक र व्यावसायिक रुपमा सुकुटेलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्नुपर्छ र त्यसका लागि मेरो पूरै सहयोग हुनेछ ।’