काठमाडौँ, माघ ३ :

हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले मङ्गलबार साँझ इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरेकी छिन्।

हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री डा राणाले विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री सारमार्फत् इजरायल सरकारसँग आग्रह गरेकी हुन्। 

फोनवार्तामा मन्त्री डा राणाले इजरायल सरकारले विपिन सहित सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गरिन् ।

त्यस अवसरमा मन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी मन्त्री डा राणालाई गराएको थियो । साथै विदेशमन्त्री सारले मङ्गलबार बिहान परराष्ट्रमन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल- खुलाइफीसँग कुराकानी गरेकामा खुसी व्यक्त गरेका थिए । 

मन्त्री अल- खुलाइफी हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उनको भूमिका महत्वपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाइ थियो ।     

हिजो बिहान मन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्रीसँग पनि फोनवार्ता गरी जोशीको रिहाइका लागि आग्रह  गरेकी थिइन् । हमास समूहले केही बन्दी रिहा गर्न लागेको समाचारपछि मन्त्री डा राणाले इजरायल सरकार र हमाससँग सम्पर्कमा रहेर युद्धविरामका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग सम्पर्क गरी विपिनको रिहाइका लागि अपिल गरिरहेकी छिन् ।

विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ । मन्त्री डा राणाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरू मार्फत विपिनको रिहाइका लागि आग्रह गर्दै आएकी छिन् ।