
नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम गरेको छ ।
कलेजले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएस्सी ल्याब मेड तथा बीएस्सी एमआइटीमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले विद्यार्थीहरुले प्राप्त गर्ने सफलताले नै कलेजले शैक्षिक मानक बनाउने भएकाले मिहिनेत गरेर अध्ययन गर्न सुझाए । सफलता प्राप्त गर्न लगनशीलता र मिहिनेत जरुरी भएको बताउँदै प्रा.डा.अन्सारीले मेडिकल शिक्षामा किताबी ज्ञान बुझेर मात्र नहुने व्यवहारिक र प्रयागात्मक विधि बुझ्न जरुरी रहेको जिकिर गरे ।
विद्यार्थीको सिकाइका लागि कलेजले हरदम सहयोग गर्ने बताउँदै आफ्नो धरातल राम्रो बनाउने गरी मर्यादामा रहेर मिहिनेत गर्न अनुरोध गरे ।
कार्यक्रममा कलेजकी प्रबन्ध निर्देशक डा.साविहा यासमिनले कलेज व्यवस्थापनका पक्षबाट विद्यार्थीलाई दिनुपर्ने सबै प्रकारका सुविधा उपलब्ध गराइने बताए । कलेजमा मेडिकल शिक्षा अध्ययनका लागि राम्रो वातावरण रहेको, फ्याकल्टीहरु अनुभवी र विद्यार्थीमैत्री रहेकाले विद्यार्थीहरुले पनि मिहिनेत गर्नुपर्ने जिकिर गरे ।
एमबीबीएसमा भर्ना हुँदा शैक्षिक अभिमुखीकरण कार्यक्रममा बस्दाको क्षणको सम्झना गर्दै उनले सुरुका दिनहरुमा के होला ? कसरी जाने ? अन्योलता भए पनि दोस्रो वर्षदेखि सहज बन्दै जाने बताए । मेडिकल शिक्षामा अनुशासन, मिहिनेत र लगनशीलता सफलताको प्रमुख आधार रहेको उनको भनाइ छ ।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा.नीलमणि उपाध्याय, कलेजका बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारीलगायतले विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको शैक्षिक, प्रशासनिक तथा विषयगत जानकारीहरु प्रदान गरेका थिए ।