
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको मुद्दामा रास्वपा सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत ६० लाख बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।
लामिछानेले काटेको चेकबाट ऋण भुक्तान गरेका कारणले उनलाई तत्काल कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको फैसलामा भनिएको छ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने लगायतविरुद्ध ५ करोड ८ लाख ६८ हजार ६ सय ३३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।
यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
सहकारीको बचत अपचलन गरेको मुद्दामा लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए ।अदालतको आदेश बमोजिम धरौटी बुझाएका लामिछाने अब थुना बाहिरै बसेर मुद्दा लड्न पाउनेछन्।
यद्यपि, लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ता भएकाले काठमाडौंको मुद्धा पछि उनलाई त्यता पनि लैजाने तयारी भइरहेको छ ।