
आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’ को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । यस गीतका गीतकार तथा संगीतकार राजनराज शिवाकोटी हुन् । गायनमा शिवाकोटी र मेलिना राईको स्वर छ । गीतमा मौलिक नेपाली शब्दहरू प्रयोग गरिएको छ ।
कविराज गहतराजले कोरियोग्राफी तथा रामकुमार केसीले सिनेमाटोग्राफी गरेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको नृत्य छ । चलचित्रका निर्देशक मिलन चाम्सले यो गीत चलचित्रको प्रचारको प्रयोजनका लागि तयार पारिएको बताए ।
यो चलचित्र महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । निर्देशक चाम्सले चलचित्रले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको बताए ।
चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेमकुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।
यस चलचित्रको भव्य वर्ल्ड प्रिमियर गत मङ्सिर २३ गते हङकङमा भएको थियो, जसमा दर्शकले प्रशंसा गरेका थिए । यो चलचित्र नेपाल रिलिजअगावै यूके, अमेरिका, अस्ट्रेलिया र जापानमा समेत रिलिज हुने निर्माता श्रेष्ठले बताए ।
चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् । सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।