काठमाडौं, माघ ३ :

चलचित्र ‘लाज शरणम्’ले आफ्नो दर्शक र प्रशंसकलाई सहभागी गराउने नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत फिल्मका शीर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।

निर्माण पक्षका अनुसार, सहभागीहरुले लोकपपसँगै आधुनिक गीत, कविता, र्‍याप, क्यारिकेचर र भाषणकलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागिताका लागि यी पाँच विधामध्ये कुनै पनि विधा छान्न सकिने बताइएको छ । सहभागीहरुले चलचित्र ‘लाज शरणम्’को इमेल [email protected] मा पाठाउन सक्नेछन् ।

प्रतियोगिहरुले तयार पारेका भिडियोहरु ‘लाज शरणम्’को आधिकारिक टिकटक अकाउन्टमा अपलोड गरिनेछ । निर्माण टिमले भ्युज र सेयरका आधारमा उत्कृष्ट भिडियो छनोट गरी विजेतालाई आकर्षक पुरस्कार प्रदान गर्ने जनाएको छ ।

यो प्रतियोगिता माघ १ गतेदेखि १५ गते राति १२ बजेसम्म खुला रहनेछ ।

‘लाज शरणम्’ ले केही समयअघि सार्वजनिक तीनवटा पोस्टरमार्फत आफ्नो कथाको झलक देखाएको थियो । अन्य सामग्री नआउँदै चर्चा पाएको छ । जसले अब आउने टिजर र ट्रेलरलगायतका सामग्रीलाई प्रतिक्षित बनाएको छ ।

वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिका अवसरमा प्रदर्शन हुनेछ ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन्। सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्यलगायत कलाकार छन् ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनी’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

‘लाज शरणम्’ले मनोरञ्जनसँगै सामाजिक र गम्भीर सन्देश दिने संकेत गरेको छ । यो चलचित्रले दर्शकको ठुलो प्रतीक्षा बटुल्न सफल भएको छ ।