
राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको आज( शुक्रबार) निरीक्षण गरेका छन् ।
राष्ट्रपतिले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएको उनको सचिवालयले जनाएको छ । निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए ।
निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे लिँदै राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ ।
हाल निर्माणाधीन द्रुतमार्ग काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने छ ।