
काठमाडौँ, माघ ७ :
खो- खो विश्वकपको उपाधिका लागि आज (आइतबार) नेपालका दुवै टोलीले आयोजक भारतसँग प्रतिस्पर्धा गर्दैछन् ।
पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका ८ बजे र महिलातर्फको खेल बेलुका सवा ५ बजे शुरु हुनेछ ।
खेल नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ ।
शनिबार भएको सेमिफाइनलमा पुरुषतर्फ नेपालले इरान र भारतले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् । नेपालको पुरुष टोली उद्घाटन खेलमा भारतसँग पराजित भएको थियो ।
नेपालको महिला टोलीले हिजो भएको सेमिफाइनलमा युगान्डालाई ८९- १८ ले पराजित गरेको थियो । त्यस्तै भारतले दक्षिण अफ्रिकालाई ६६- १६ ले हराउँदै नेपालसँग फाइनल खेल्न लागेको हो । महिला टोली अपराजित रहँदै उपाधि नजिक पुगेको हो ।