
बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र छविलाल जाेशी विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज (आइतबार) मुद्दा दायर गरेको हो ।
लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको जिल्ला न्यायाधीवक्ता कार्यालका प्रमुख प्रेमराज पौडेलले सक्रिय न्युजलाई जानकारी दिए । रवि र छविसँग १० करोड १९ लाख ३६ हजार रुपैयाँ बिगो दाबी गरिएको हो ।
संगठित रुपमा ठगीको कसुरमा लामिछानेसहित ४२ जना प्रतिवादी भएका छन् ।लामिछाने कास्की र काठमाडौं जिल्ला अदालतमाबाट धरौटीमा रिहा भए पनि मुद्दा दर्ता भएसँगै अब रुपन्देही अदालतमा उपस्थित हुनुपर्नेछ । अब रुपन्देही अदालतमा थुनछेक बहस हुनेछ । बयानका लागि लामिछाने साेमबार भैरहवा जाने तयारी भएको छ ।
लामिछानेविरुद्ध चितवन जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता हुन बाँकी छ ।