काठमाडौं, माघ ७ :

निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाउने शर्तमा थप कडाइ गर्न प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलसम्बन्धी ऐनको दफा ५२ मा भएको व्यवस्थामा थप कडाइ गर्ने प्रस्ताव गरेको जानकारी दिए ।

हाल राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभाको चुनावमा समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ एक सिट मात्रै जिते हुने व्यवस्थालाई संशोधन गर्दै अब पाँचवटा सर्त पूरा गरेकाले मात्रै राष्ट्रिय दलको मान्यता पाउने गरी आयोगले कानुन संशोधनको तयारी गरेको छ ।

जसअनुसार समानुपातिक चुनावमा निश्चित मत प्राप्त गर्नै पर्ने,  राष्ट्रव्यापी संगठनात्मक संरचना वा उपस्थिति हुनुपर्ने, कम्तिमा तीनवटा प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व भएको हुनुपर्ने, कम्तिमा ८० प्रतिशत क्षेत्रमा चुनावमा भाग लिएको र समावेशी चरित्रको  दललाई मात्रै राष्ट्रिय दलको मान्यता दिनुपर्ने गरी कानुन संशोधन अघि बढेको थपलियाले जानकारी दिए ।