काठमाडौँ, माघ ८ :

आईसीसी यू- १९ महिला टी-२० विश्वकपमा आज (सोमबार) नेपालले दोस्रो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियामा जारी यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । यसअघि माघ ५ गते शनिबार पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

स्कटल्यान्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको हो । पहिलो खेलमा पराजित नेपाल र स्कटल्यान्डले दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । 

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यो समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्यान्ड रहेका छन् ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलंका र वेस्ट इन्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया छन् ।

पूजा महतोको कप्तानीमा नेपाली टिम मलेसियामा विश्वकप खेल्दै छ । नेपालको समूह चरणको अन्तिम खेल पर्सि (माघ ९ गते) अस्ट्रेलियासँग हुनेछ ।