काठमाण्डौं, माघ ८ :

मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपाल स्कटल्याण्डसंग पराजित भएको छ ।  

आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । नेपालको यो  लगातार दोस्रो हार हो । हारसँगै नेपालको सुपर सिक्स प्रवेशको सम्भावना कमजोर बनेको छ ।

नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।

स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन्। नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिइन् ।

त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भएको थियो ।

कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री धामीले १० रन जोड्नु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डको भने यो पहिलो जित हो । स्कटल्याण्ड  पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो ।