
पूर्वबैंकर अनलराज भट्टराईले बैंकहरुमा बढ्दै गएको खराब कर्जाको समस्या समाधानका लागि प्रोभिजन र खराब कर्जा छुट्याएर हेर्नु आवश्यक रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको नाफिज संवादमा उनले बैंकले नोक्सानी व्यवस्थापनका लागि छुट्याउने प्रोभिजन र खराब कर्जालाई छुट्टै रुपमा हेर्ने नीति आवश्यक रहेको बताए । उनले बैंकले नोक्सानी व्यवस्थापनका लागि छुट्याउने प्रोभिजन र खराब कर्जालाई एउटै रुपमा हेर्दा मुलुकको अर्थतन्त्र र बैंकहरुमा समस्या आएको दाबी गरे ।
बैंकहरुमा निष्क्रिय कर्जा बढ्दै जाँदा प्रोभिजन बैंकहरुले थप्दै जानुपर्ने अवस्था रहेको भट्टराईको भनाइ छ । उनले बैंकहरुको अहिलेसम्मको अवस्था हेर्दा ८ प्रतिशतसम्म खराब कर्जा पुग्ने देखिएको बताए । उनले बैंकहरुको निष्क्रिय कर्जा बढ्दै जाँदा कर्जा नोक्सानी व्यवस्थामा चालु आवको दोस्रो त्रैमाससम्म २४ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ व्यवस्था गरेको बताए ।
उनले बैंकहरुले कर्जा नोक्सानी व्यवस्थाको लागि रकम छुट्याउँदा नाफामा कमी आएको बताए । बैंकले कुनै पनि समयमा दिएको ऋणलाई असुली गर्न नसक्ने अवस्था आए बैंकहरुले शतप्रतिशत नाफा/नोक्सान खाता खर्चमा लेख्नुपर्ने व्यवस्था रहेको उनको भनाइ छ ।
उनले बैंकहरुले तत्कालको अवस्थामा सेयर लगानीकर्तालाई लाभांश दिन नसक्ने बताए । कर्णाली विकास बैंकको ४२ प्रतिशत खराब कर्जा देखिनु नियामक निकायको पनि कमजोरी देखिएको उनको दाबी छ । भट्टराईले बैंकको खराब कर्जा ४२ प्रतिशत एकै दिनमा नभई हरेक वर्ष हुँदै आएको बताए ।
उनले बैंकिङ क्षेत्रको कर्जा ८९ प्रतिशत सम्पत्ति धितोमा रहेको भन्दै घर-जग्गा धितोमा ६६ प्रतिशत रहेकाले केही सुरक्षित देखिएको उनको भनाइ छ । भट्टराईले अहिले बैंकहरु दुईवटा खराब कर्जा बढ्दै जाने र पुँजी कोषमा दबाब बढ्ने समस्या देखिएको बताए । उनले बैंकहरुमा तरलता थ्रुपिएर बसेको तर बैंकले ऋण दिन र ऋणले लिन नचाहने अवस्था रहेकाले मुलुक क्रेडिट क्रन्चमा रहेको बताए ।
सोमबार सार्वजनिक भएको तथ्यांकले बैंकहरुको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानीमा कमी आउँदा नाफामा गिरावट भएको देखएको छ । गत वर्षको दोस्रो त्रैमासमा तुलनामा बैंकहरुको खुद ब्याज आम्दानी ३.७१ प्रतिशतले घटेको छ ।
गत आवको दोस्रो त्रैमाससम्म ९६ अर्ब ५६ करोड ५९ लाख रहेको खुद ब्याज आम्दानी चालु आवको दोस्रो त्रैमासमा ९२ अर्ब ९७ करोड ९६ लाखमा झरेको हो । आम्दानी नै घट्दा बैंकहरुको नाफासमेत घटेको छ ।