
विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल’ को छैटौँ संस्करण यसपालि पनि काठमाडौंमा हुने भएको छ ।
काठमाडौंमा माघ १७ बाट १९ गतेसम्म हुने महोत्सवमा यसपटक ६० देशका चार सयभन्दा बढी चलचित्रको आवेदन परेको र त्यस मध्येबाट नेपालसहित ४७ देशका ९८ चलचित्र चयन गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
‘हामीलाई प्राप्त करिब ४०० चलचित्रलाई प्रारम्भिक चलचित्र चयन समूहले करिब डेढ महिना लगाएर हरेपछि ९८ वटा चयन गरेको छ । महोत्सवमा लघु चलचित्रसँगै कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रलगायत महिला, बालबालिका, मानवअधिकारका चलचित्रहरू पनि प्रतिस्पर्धामा समावेश गरिएका छन्,’ महोत्सव आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले भने, ‘दुई मिनेटदेखि साढे दुई घण्टासम्मको चलचित्र महोत्सवका लागि चयन भएको छ ।’
महोत्सवका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुइसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवं लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
नेपालबाट निर्णायकका रूपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजित बास्कोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदीप खड्का र टेलिभिजनकर्मी टीकाराम यात्री, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवं निर्देशक रौनकविक्रम कँडेल र निर्देशक दिनेश लिङ्देन छन् ।
महोत्सवमा दक्षिण एसियाली मुलुकहरू भारत, बंगलादेश, पाकिस्तानसहित पूर्वी एसियाका चीन, जापान, थाइल्यान्ड, कोरिया, यूएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनामजस्ता देशका चलचित्र चयन भएका छन् ।
यस्तै संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्युनेसिया, पोर्चुगल, पोल्यान्ड, हंगेरी, ग्रिस, फिनल्यान्ड, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपियन मुलुकका चलचित्र यो महोत्सवमा चयन भएका छन् । यस्तै मोरक्को, इजिप्ट, जमैका, क्यामरुन, सर्भिया, दक्षिण अफ्रिकासहित विभिन्न अफ्रिकन देशका चलचित्र पनि यो महोत्सवमा फाइनलका लागि चयन गरिएको छ ।
महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रको विषयमा अन्तर्क्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत रहेको छ । चलचित्रको उद्घाटन समारोह काठमाडौंको दरबारमार्गस्थित क्यूएफएक्स सिनेमा राइजिङ मल चलचित्र घरमा आयोजना गरिनेछ ।
उद्घाटनपछि सोही चलचित्र घरमा दुई दिनसम्म नियमित रूपमा चलचित्र प्रदर्शनीका साथै चलचित्रका विविध विषयमा छलफल एवं अन्तर्क्रिया गरिनेछ । त्यसपछि चलचित्र विकास बोर्डमा तीन दिनसम्म चलचित्र प्रदर्शनी, मास्टर क्लास र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिनेछ ।
महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकारलगायत उत्कृष्ट लघुचलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र, मानवअधिकारका चलचित्रजस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।
यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ । विभिन्न फरक विधाका उत्कृष्ट १५ वटा राष्ट्रिय तथा १५ अन्तर्राष्ट्रिय गरी ३० चलचित्रलाई पुरस्कृत गरिनेछ । साथै चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिनेछ ।