
पर्वतको मोदी गाउँपालिका- ४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ ।
लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो ।
कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो । गत जेठदेखि सबै घरधुरीमा सहज रुपमा खानेपानी पुगेको समाजसेवी नरसिंह पुनले जानकारी दिए ।
पुनका अनुसार दुई सय ११ घर, एक विद्यालय र चार वटा सामुदायिक भवनमा धारा विस्तार गरिएको छ । यो योजनाबाट लेसपारका झण्डै एक हजार बासिन्दा लाभान्वित भएका छन् । उक्त खानेपानी आयोजनाको यही माघ १५ गते उद्घाटनको कार्यक्रम रहेको आयोजना प्रमुख पुनले जानकारी दिए ।
खानेपानी योजना एक करोड ३६ लाख ५८ हजार पाँच सय ६० को लागतमा सम्पन्न भएको हो । जसमध्ये १९ लाख ७१ हजार नौ सय बराबरको स्थानीयले जनश्रमदान गरेका छन् भने संस्थामार्फत एक करोड १६ लाख ८६ हजार छ सय ६० खर्चिएको आयोजना प्रमुख बुद्ध पुनले जानकारी दिए ।
घरघरमै खानेपानी सुविधा उपलब्ध भएपछि पानीका लागि खोला, कुवा र खोल्सामा धाउनुपर्ने स्थानीयको बाध्यता हटेको लेसपार एक घर एक धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पुनले बताए ।