
आगामी फागुन २३ गते रिलिज हुने चलचित्र ‘होस्टेल ३’को केही दिनअघि सार्वजनिक गरिएको गीत ‘टिक टिक टिक’ले लोकप्रियता पाइरहेको छ ।
रिलिजको केही घण्टादेखि नै युट्युबको ट्रेन्डिङमा पुगेको यो गीतलाई युट्युबलगायत विभिन्न सोसल मिडिया प्लेटफर्महरूमा व्यापक भ्युज तथा सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन् । हाल यो गीतको युट्युब भ्युज करिब १० लाख छ ।
हाल नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १० मा रहेको यो गीत नेपालीहरूको उल्लेख्य बसोबास रहेका देशहरू कतारमा नवौं, यूएईमा पच्चीसौं र कुवेतमा एक्काइसौं स्थानमा रहेको छ । यस गीतमा दसौँ हजारको सङ्ख्यामा टिकटक र रिल्स बनेका छन् । विशेषतः गीतको मुखडा ‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठीक ठीक ठीक, एक दिन हुन्छ सबै ठीक’ टिकटक र रिल्समा चर्चित बनेको छ ।
यस गीतमा चलचित्रका सबै प्रमुख कलाकारहरूको आकर्षक नृत्य रहेको छ, जसमा चार मुख्य अभिनेताहरू पारस बम (कुलब्वाई), रिहान गिरी, आशिष घिमिरे र पदम तामाङ तथा अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुली फिचर्ड छन् ।
यसमा अलमोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । यसमा अलमोडासँगै सन्तोष राणाले र्याप भोकल दिएका छन् । गीतमा प्रवीण सिंहले कोरियोग्राफी गरेका छन् ।
‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृंखला ‘होस्टेल’ को तेस्रो संस्करण हो । चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा रहेको छ । चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायत कलाकारको पनि अभिनय छ ।
नेपालसहित विभिन्न देशको ट्रेन्डिङमा, सर्ट भिडियो प्लेटफर्ममा झनै लोकप्रिय
चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शंकर कोइराला हुन् । सह-निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनिष सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।
अर्जुन तिवारी डीओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदीप कुँवर मुख्य सहायक निर्देशक, यमप्रसाद ओली प्रोडक्सन डिजाइनर हुन् । चलचित्रका संगीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुन् । जसमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन छ ।
यो चलचित्र फागुन २३ गते नै नेपालबाहिरका विभिन्न देशमा पनि प्रदर्शनमा आउने तयारी छ । नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।