काठमाडौँ, माघ ११ :

नेपाली गीतसङ्गीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाउनुभएकी गायिका तारादेवीलाई स्मरण गर्दै ‘सम्झनामा तारादेवी’ सांस्कृतिक साँझ र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार जमलस्थित सांस्कृतिक संस्थानमा तारादेवी स्मृति फाउन्डेसनद्वारा १९औँ स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उनका लोकप्रिय गीतहरूमार्फत स्मरण गरियो । 

फाउन्डेसनका संरक्षक रवि श्रेष्ठले आफ्नी आमा तारादेवीले नेपाली साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानलाई सम्झने, चर्चा गर्ने र यसै क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यका साथ संस्था (फाउन्डेसन) स्थापना गरिएको बताए । 

गीतकार तथा सङ्गीतकारहरू सिके रसाइली, तीर्थकुमारी थापालगायतलाई जनही २५ हजारसहित सम्मान गरियो । आठ वर्षको उमेरदेखि नै गाउन थालेएकी गायिका तारादेवीले स्वर दिएका  ‘शुभकामना भरि’, ‘उकाली ओरालीहरूमा’, ‘साँघुरी बारी नि हो’, ‘त्यो धारा पानी’, ‘कालीपारि दाइ कति राम्रो’ लगायतका गीतहरू अहिलेका पुस्तामाझ पनि लोकप्रिय छन् । 

गायिका तारादेवीको २०६२ सालमा निधन भएपछि उनको साङ्गीतिक कृति, योगदान र यात्रालाई जीवन्त बनाउने लक्ष्यले ‘तारादेवी स्मृति फाउन्डेसन’ को स्थापना गरिएको थियो ।