काठमाडौं, माघ ११ :

ट्राफिक प्रहरीले अबदेखि कानुनविपरीत जथाभाबी चाबी थुत्न नपाउने भएको छ । पाटन उच्च अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपाने इजलासले यस्तो गर्न नहुने भनी निर्देशनात्मक आदेश दिएको छ ।

व्यक्तिगत सम्पत्ति र दुख दिने नियतले गरिने यस्ता कार्य नगर्न र कानुन बमोजिम मात्र कार्य गर्न प्रहरीलाई आदेशमा भनेको छ । 
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४  प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान छ र दफा १६० मा दण्ड सजायको  प्रावधान रहे पनि जथाभाबी गरेको निवेदनमा उल्लेख छ ।

गत कात्तिक २१ गते पाटन उच्च अदालतमा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्यविरुद्ध रिट दायर भएको  थियो । विवेक चौधरीले प्रहरीले सवारी चालकको गाडीको चाबी खोस्ने कार्य गैर कानुनी भएको जनाउँदै रिट दायर गरेका थिए ।

यस्तो कार्यले नेपालको संविधानको धारा १७ मा प्रत्याभूत गरिएको स्वतन्त्रताको हकको समेत उल्लङ्घन हुन जानेछ भन्दै कानुन अनुसार मात्र गर्न निर्देशनात्मक आदेश दिएको छ ।सडक बिचमा बसेर विदेशी पर्यटकको समेत चाबी खोसेपछि प्रहरी विवादित समेत बनेको थियो ।