
महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा सञ्चलन गरेको छ ।
काठमाडौंमा बिहीबार एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा सुरु गरेको हो । काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० बस आज (बिहीबार) देखि सञ्चालनमा ल्याएको हो ।
नयाँ बसहरु थपिएसँगै महानगर यातायातका बसहरु ८९ पुगेको प्रालिले जनाएको छ । सिप्रदी ट्रेडिङ प्रालिले सोही कार्यक्रममा बसहरुको चाबी महानगर यातायात प्रालिलाई हस्तान्तरण गरेको हो ।
नयाँ बस सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथबाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा विस्तार गरेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले बताए ।
आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरि, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा यात्रुलाई सेवा प्रदान गर्न सुरु गरेको खतिवडाको भनाइ छ । साथै महानगर यातायातले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
उपाध्यक्ष खतिवडाले महानगरपालिकाले छिटै १० वटा विद्युतीय बससमेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए । एक वर्षभित्रै ५० विद्युतीय बस सञ्चालन गर्ने तयारी रहेको खतिवडाको भनाइ छ ।