
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्री केपी ओलीले भर्चुअल रूपमा दुई गाउँपालिका भवनको बालुवाटारबाटै उद्घाटन गरेका छन् ।
पाल्पाको तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको प्रधानमन्त्री ओलीले शुक्रबार भर्चुअल रूपमा उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओली यी भवन उद्घाटन गर्न शुक्रबार पाल्पा जाने कार्यक्रम भए पनि चिकित्सकको सुझावका आधारमा उनी भौतिक रूपमा कार्यक्रममा सहभागी भएका थिएनन् ।
प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै इच्छा भए पनि स्वास्थ्यले साथ नदिएका कारण आउन नसकेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले पाल्पा उर्वर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्र रुपमा अगाडि बढाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष रूपमा उपस्थित हुन असमर्थ भएको बताएका थिए ।
ओलीले प्रशासकीय भवनबाट स्थानीय जनतालाई अझ राम्रो गरी सेवा र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरेका थिए ।
उनले सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरूकै पालामा सम्पन्न गर्ने पनि बताएका थिए ।
साथै उनले खनिज तत्त्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने अपेक्षा गरेका थिए ।