
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधनम गेब्रेयसस । गेट्टी इमेज
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनको प्रभाव विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि महसुस गरिरहेको छ ।
समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार, डब्ल्यूएचओले लागत घटाउनुपर्ने र कुन स्वास्थ्य कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने भनेर समीक्षा गर्नुपर्ने बताएको छ ।
यो बयान ट्रम्पको घोषणापछि आएको हो जब डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अमेरिका डब्ल्यूएचओबाट अलग हुने बताएका थिए ।
उनले संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीलाई कोभिड-१९ महामारी र अन्य विश्वव्यापी स्वास्थ्य संकटहरूलाई गलत तरिकाले सम्हालेको आरोप लगाए ।
‘यो घोषणाले हाम्रो आर्थिक अवस्थालाई अझ नाजुक बनाएको छ,’ डब्ल्यूएचओका महानिर्देशक टेड्रोस आधनम गेब्रेयससले जनवरी २३ को ज्ञापनपत्रमा भने ।
ज्ञापनपत्रमा भनिएको छ कि- महत्वपूर्ण क्षेत्रहरूबाहेक डब्ल्यूएचओले यात्रा खर्चमा उल्लेखनीय कटौती गर्ने र भर्ती स्थिर गर्ने योजना बनाएको छ ।
एक वर्षको सूचना अवधिपछि अमेरिका जनवरी २०२६ मा डब्ल्यूएचओबाट बाहिरिने तालिका छ ।
अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठुलो आर्थिक सहयोगी हो, जसले यसको लगभग १८ प्रतिशत कोष प्रदान गर्छ । -बीबीसी