लमजुङ, माघ १३ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमत्री केपी शर्मा ओलीले नचाहेसम्म वर्तमान सरकार तलमाथि नहुने बताएका छन् ।

लमजुङको दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको शनिबार आयोजित स्वर्णजयन्ती समारोहमा मन्त्री गुरुङले देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने बताए ।

जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको र देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको बताए ।

उनले भने, “वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।”

सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने भनिए पनि गाउँका जनताले त्यो अधिकार उपभोग गर्न नपाएका र उनीहरूले महसुस गर्नेगरी सरकार काममा लागेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङको भनाइ थियो ।

अर्थतन्त्र सुदृढ पार्न, लगानी भित्र्याउनेलगायत सदन अधिवेशन नभएको अवस्थामा देशलाई आवश्यक पर्ने ऐनकानुन अध्यादेशमार्फत जारी गरिएको उनले स्पष्ट पारे । संसद्मा धेरै विधेयक विचाराधीन रहेको अवस्थामा अत्यावश्यक ती ऐन  संसदबाट तत्काल पारित नहुने भएकाले अध्यादेशको बाटो अगाल्नुको विकल्प नरहेको उनको कथन थियो ।