काठमाडौं, माघ १४ :

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन, उत्पादन, उत्पादकत्व र जीडीपी वृद्धि गर्न अध्यादेश ल्याएको दाबी गरेका छन् ।

विश्व भन्सार दिवसका अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार सरकारहरुको सूचीमा अर्को एक थान सरकार थप्नका लागि नबनेको बताए ।

‘अहिलेको सरकार सरकारहरुको सूचीमा अर्को एक थान सरकार मात्रै होइन, सरकार मुलुकमा चाहिन्छ, त्यस कारणले यो सरकार छ भन्नका लागि मात्रै होइन । यो सरकार विशेष परिस्थितिमा बनेको छ, विशेष अभिभारा पूरा गर्न बनेको छ । यो सरकारले जुन अभिभारा आफ्नो काँधमा लिएको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘त्यसबाट पछि छुट्ने छुट यो सरकारलाई छैन । समस्त निजामती प्रशासन, भन्सार प्रशासन पनि सरकारको एउटा महत्त्वपूर्ण अंग हो । त्यसकारण यहाँहरुले आफ्नो जिम्मेवारीलाई महत्त्वका साथ पूरा गर्नुस् ।’

उनले सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै सरकारले आफ्नो अभिभारा पूरा गर्ने धारणा राखे । उनले निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशहरुलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै यस्ता कदमहरु सरकारले आगामी दिनमा पनि अघि बढाउने बताए । ‘अहिले निजी क्षेत्रका साथीहरुले सरकारले अघि सारेका अध्यादेशलाई बढो प्रशंसा गरिरहनुभएको छ । त्यसलाई उहाँहरुले सकारात्मक रुपमा व्याख्या र विश्लेषण गरिरहनुभएको छ,’ पौडेलले भने ।

सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरु अन्तिम नभएको र आगामी दिनमा अझ बढी काम गर्दै जाने उनको भनाइ छ । निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको पनि अर्थमन्त्री पौडेलले बताए ।

‘म भन्न चाहन्छु, यो हामीले अहिले चालेको कदमहरु अन्तिम कदम होइनन् । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन, उत्पादन, उत्पादकत्व वृद्धि गर्न, जिडिपी वृद्धि गर्नका निम्ति हामीले चालेको यो अन्तिम कदम होइन । सरकारले चालेको यो अन्तिम कदम होइन । यो एउटा कदम हो । अध्यादेशका माध्यमबाट कानुन संशोधनको क्षेत्रमा यो कदमहरु चाल्यौँ । यस्ता कदमहरु हामी अनेकपटक चालिरहन्छौँ । यो जुन प्रकारको निराशा, शिथिलता, हतोत्साही मनोविज्ञान यो सरकार बन्दाको अवस्थामा प्राप्त गरेका थियौँ, त्यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्छ,’ उनले भने, ‘निराशालाई आशामा बदल्नुपर्छ । अविश्वासलाई विश्वासमा बदल्नुपर्छ । शिथिलतालाई क्रियाशीलता र गतिशीलतामा बदल्नुपर्छ । हामीले नै अर्थतन्त्र चलायमान र गतिशील बनाउने हो । हरेक नागरिकलाई सुखी र समृद्ध जीवनको प्रत्याभूति गर्ने हो भन्ने अठोटका साथमा सरकार क्रियाशील छ ।’

उपप्रधानमन्त्री पौडेलले राजस्व संकलनमा सहयोगी भूमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह गरे । राजस्व चुहावट, अनियमितताका प्रवृत्तिलाई निरुत्साहित गर्न, वैधानिक प्रणालीभित्र आफ्ना कारोबार सञ्चालन गर्न निजी क्षेत्रका छाता संगठनले आफ्ना सदस्यहरुलाई निर्देशित गर्न आग्रह गरे ।