
भन्सार छलेर नेपाल ल्याई अवैध रुपले सञ्चालन गरिएको गोदाममा सशस्त्र प्रहरी बलले छापा हानेको छ । सशस्त्र र भन्सार कार्यालयको संयुक्त टोलीले ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका समानहरु बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका १०, आदर्शनगरस्थित दुईवटा पक्की घरको भुइँ तलामा अवैध रुपले गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा र वीरगन्ज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले उल्लेखित सामानहरु बरामद गरेको हो ।
गोदाम गरी राखिएको सामान सीमा इलाकाबाट करिब ३ किलोमिटर उत्तरतर्फ रहेको छ । बरामद गरिएको सामानमा ४९ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको लत्ताकपडा र १ लाख २१ हजार ५ सय रुपैयाँ बराबरको हार्डवेयरको सामानहरु छन् ।
बरामद गरिएका सामानहरु आवश्यक कारबाहीका भन्सार कार्यालय वीरगन्जमा बुझाइएको छ ।