
सत्तारुढ दलहरुको बैठकले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ ।
बालुवाटारमा सोमबार बसेको सत्तारुढ दलहरुको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरुपमा एउटै आवाज उठाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले अध्यादेश जारी गरेको र सबैले सकारात्मक रुपमा लिएको बताए ।
उनले यसले निजी क्षेत्रलाई उत्साहित बनाएको र यसबारे पनि छलफल भएको बताए । सत्तारुढ दलहरुमा यसबारे कुनै समस्या नरहेको पनि बताए । उनले संसद्मा सिंगो सत्तापक्ष एकरुपताका साथ अघि बढ्ने निर्णय भएको बताइन् ।
‘यो बैठकको मुख्य उद्देश्य भनेको १८ गतेदेखि हिउँदे अधिवेशन आह्वान भएको छ । हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने मुख्य कुरा थियो । सरकारले अध्यादेश जारी गरेको छ । अध्यादेशले आम रुपमा एउटा सकारात्मक सन्देश संप्रेषण गरेको छ । निजी क्षेत्रलाई उत्साहित बनाएको छ । यसमा पनि छलफल भएको छ,’ उनले भने, ‘सत्तारुढ दलमा यसमा कुनै कन्फ्युजन छैन । संसद्मा सिंगो सत्तापक्ष एकरुपताका साथ अघि बढ्ने । हामीले शालिनताका साथ संसद्लाई रचनात्मक र सिर्जनात्मक ढंगबाट अघि बढाउन, संसद्लाई बढीभन्दा बढी कानुन निर्माणको थलोका रुपमा विकास गर्न छलफल भएको छ ।’
उनले १८ गतेको संसद्को बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने र संसद्को काम-कारबाहीहरुमा सत्तारुढ दलहरु एक ठाउँमा उभिएर सशक्त र बलियो बनाउँदै लैजाने निर्णय भएको बताए ।
यो पनि…
सत्तापक्षीय बैठक : अध्यादेशका सम्बन्धमा संसदमा एकमतका साथ प्रस्तुत हुने
सांसदहरुसँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरुलाई देउवाको निर्देशन