गोरखा, माघ १६ :

जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको गोरखाकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आगामी फागुन ७ गतेबाट सुरु हुने भएको छ । 

हरमटारी युवा क्लबको आयोजनामा फागुन ७ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका महासचिव किरण ढकालले जानकारी दिए ।

‘गोर्खाली रनिङकप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ सदरमुकामस्थित हरमटारी रङ्गशाला खेलकुद मैदानमा हुने सञ्चालन हुने उनको भनाइ छ ।

वि. स २०७० देखि क्लबले जिल्लामै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा उपाधि विजेताले चार लाख तथा उपविजेताले रु चार लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने महासचिव ढकालले जानकारी दिए ।

प्रतियोगिता अवधिभरमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, उत्कृष्ट गोलकर्ता खेलाडीलाई १५ हजार पुस्कार प्राप्त गर्ने छ भने प्रतियोगिताको सबै भन्दा अनुशासित टिमलाई ३५ हजार, उदयमान खेलाडीलाई १० हजार पुरस्कार प्रदान गरिनेछ ।

जिल्लाभित्र फुटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित क्लबले प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने जनाइएको छ ।