काठमाडौं, माघ १७ :

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्न बुधबार साढे ११ बजे बोलाइएको बैठकमा समितिमा रहेका  ८ जना कांग्रेसका सदस्य मध्ये राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित थिए ।

समितिका सभापति दीपकबहादुर सिंहले १४ जनाले पुग्नुपर्ने कोरम एक घण्टा कुर्दा पनि बैठकमा १२ जना मात्रै उपस्थित भएकाले स्थगित गर्नुपरेको बताए ।

 दुईदिन पहिला नै कांग्रेसका शंकर भण्डारीले मात्रै पूर्वजानकारी गराएर नआएको र दुईजना सांसदले सुरुमै हाजिर लगाएर बाहिरिएको सभापति सिंहले बताए ।

पूर्वाधार विकास समितिमा सबैभन्दा बढी सांसद कांग्रेसका छन् । कांग्रेसका स‌ांसदहरुले बैठक बहिष्कार गरेका हुन् या संयोग मात्रै त्यस्तै परेको हो भन्ने बारेमा सदस्यहरुले केही बताएका छैनन् । 

आफ्नै पार्टीका मन्त्रीविरुद्धको छलफल भएकाले त्यसबाट उम्किन उनीहरु योजनाबद्ध रुपमा बैठकमा नगएका हुन् भन्ने राजनीतिका जानकारहरु बताउँछन् ।