दमौली, माघ १७ :

राष्ट्रपति रामचन्द्र पौडेलले सहिदहरूले नेपाली जनताको स्वतन्त्रताका लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गरेका छन् ।

तनहुँको व्यास नगरपालिका ८, पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर सहिदहरूको शालिकमा माल्यार्पणपछि भने, ‘सहिदहरूको ठुलो बलिदानले आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं । अब विदेश जाने छटपटाहट छोडौं र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौं ।’

उनले लोकतन्त्रपछि देशमा धेरै काम भएको र अझै हुन बाँकी रहेको उल्लेख गर्दै अब गाउँमा सबै सुविधा पुग्नेमा विश्वस्त हुन आग्रह गरे । उनले गाउँमा अब कृषि क्रान्ति गरेर गाउँमै रोजगारी र गाउँमै आम्दानी कसरी ल्याउने भन्ने चिन्ता लिनुपर्ने धारणा पनि राखे ।

राष्ट्रपति पौडेलले पुलिमराङमा रहेको सहिद पार्कमा रहेका सहिदहरू भारत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको शालिकमा माल्यार्पण गरे ।

लोकतान्त्रिक आन्दोलनका क्रममा विभिन्न समयमा शाहदत प्राप्त गर्ने पुलिमराङका ६ जनाको सालिक यो पार्कमा राखिएको छ । जसमध्ये धर्मध्वज गुरुङले १ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा शाहदत प्राप्त गरेका थिए ।

त्यसैगरी २०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा पुलिमराङका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा शाहदत प्राप्त गरेका थिए । शमशेरबहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिएका थिए ।

राष्ट्रपति पौडेलले माघ १६ गते सहिद दिवसका अवसरमा गृहजिल्ला पुगेर लोकतान्त्रिक आन्दोलनमा शाहदत प्राप्त गरेका सहिदहरूको शालिकमा माल्यार्पण गरेर श्रद्धा प्रकट गरेका हुन् । त्यस क्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिति थियो ।