काठमाडौं, माघ १८ :

नेपाली चलचित्र ‘लाज शरणम्’ को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ ।

वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस् भनेर बुबाले गरेको कामनासँगै टिजर सुरु हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ ।

तर, त्यसमै केही ट्विस्ट रहेको कलाकारको हाउभाउबाट देखिन्छ । तर, के प्रस्ट छैन । तर, विदेश गएको छोरो फर्किसकेको छ । त्यसपछि नदीमा डुबेको व्यक्तिको उद्धार र द्वन्द्व छ ।

गरिबी र बेरोजगारी नागरिकको दुःख यो चलचित्रले भन्ने टिजरले संकेत गरेको छ । क्यामेरा वर्क र सुन्दर लोकेसनले दर्शकको मन लोभ्याउँछ । लङ सटले टिजरको सौन्दर्य बढाएको छ ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिशृंखला ‘सक्किगो नि’ को टिमले बनाएको हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगो नि’ टिमकै छ ।

चलचित्रमा सीताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बू, ‘सक्किगो नि’ टिमका कलाकार अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकार छन् ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन् । ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिका अवसरमा प्रदर्शन हुनेछ ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, रामनरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा  छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।