काठमाडाैं, माघ १८ :

संघीय संसदको हिउँदे अधिवेशन शुक्रबार देखि सुरु हुँदैछ । पाँच महिनापछि खुलेको संसद् बैठकको पहिलो दिन प्रधानमन्त्री केपी ओलीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लगायतका दलका नेताहरु बोल्ने कार्यसूची छ।  

सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेश शुक्रबार सुरु हुने हिउँदे अधिवेशनमा पेस हुनेछन् । संसद छलेर ल्याएको भन्दै प्रतिपक्षी दलहरूले विधेयकलाई अस्वीकार गर्ने उद्घोष गरेका  छन् ।

दलीय आधारमा नेताहरूले धाराणा राखेपछि अध्यादेश पेस गर्न सभामुख देवराज घिमिरेले अनुमति दिने कार्यसूची छ।  प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीसहितका दलले सरकारलाई अध्यादेश पेस गर्न दिने त्यसपछि विरोध गर्ने भएका छन्। 

शुक्रबारको बैठकमा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधिसभामा पेस गर्ने सम्भावित कार्यसूची छ।

सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठक शुक्रबार दिउँसो १ बजेलाई बोलाएका छन् ।