
निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।
गत मंसिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, सिनेमाको टिम काठमाडौंमा केन्द्रित भएको छ । निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न गरिनेछ ।
‘कर्मा’को छायांकन चरणमै सम्पादन र भीएफएक्सको कामसमेत भइरहेको छ । निर्देशक चौधरीले भने, ‘हामीले दिनरात नभनी अत्यन्तै मिहिनेतका साथ काम गरिरहेका छौँ । अबको दुई सातामा छायांकन पूरा हुनेछ । त्यसपछि पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ । अहिलेसम्म कुनै बाधा-अड्चनविना छायांकन सम्पन्न भइरहेको छ ।’
यसबीच, पूर्वघोषित मितिमा चलचित्र प्रदर्शन नहुने भन्ने हल्लाको उनले खण्डन पनि गरे । उनले भने, ‘गलत हल्लामा नलाग्न दर्शकलाई अनुरोध गर्दछौं । काम तीव्र गतिमा अगाडि बढिरहेको छ, हामी पूर्व निर्धारित मिति चैत २९ गते नै चलचित्र रिलिज गर्नेछौं ।’
‘कर्मा’ मा विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेव पन्त मुख्य भूमिकामा छन् । विपिन र उपासना पहिलोपटक सहकार्य गर्दै छन् भने मुकुन भुसाल नेगेटिभ भूमिकामा प्रस्तुत हुनेछन् ।
चलचित्रको कथावस्तुको विषयमा निर्माणपक्षले अहिले केही पनि बताएको छैन भने सिनेमामा मुख्य कलाकारबाहेक अन्य कलाकारको को-को छन् भन्ने विषयमा कुनै जानकारी गराइएको छैन । निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताए ।
एक्सन ड्रामा जनरामा निर्माण भइरहेको ‘कर्मा’को कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । चौधरीका अनुसार अभिनेता विपिन कार्की पहिलोपटक एक्सन अवतारमा देखिन लागेका छन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने चलचित्र ‘कर्मा’लाई वसन्त लम्सालले निर्माण गरिरहेका छन् । यो सिनेमाको छायांकन सुरु हुनुअगावै ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । सेभेन सिज सिनेमाले चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ ।
सिनेमाको छायांकन सञ्जय लामाले गरिरहेका छन् । निर्देशक चौधरीको ‘कर्मा’ तेस्रो निर्देशकीय फिचर सिनेमा हो । उनले यसअघि ‘अगस्त्य : च्याप्टर १’ निर्देशन गरेका थिए, जसले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । त्यसैले ‘कर्मा’बाट पनि ठूलो अपेक्षा गरिएको छ । चलचित्र ‘कर्मा’ नयाँ वर्षको अवसर पारेर चैत २९ गते प्रदर्शनमा आउने तयारीमा छ ।