
नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय सभा बैठकमा आइतबार उनले यस्तो माग गरेका हुन् । उनले सिमेन्टमा अत्याधिक मूल्यवृद्धि हुँदा निर्माण कार्यमा समस्या आइरहेको बताए । उनले चार महिनाअघि ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भन्दा पनि बढी रहेको बताए । उनले सिमेन्टमा कार्टेलिङ र सिण्डिकेट भएको बताए ।
सिमेन्टमा भएको मूल्यवृद्धिका कारण नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने परिस्थिति रहेको गुनासो गरे । यसले निर्माण कार्यमा लागत मूल्य बढिरहेको बताए ।
‘अहिले यो सिमेन्टमा असाध्यै चर्को मूल्यवृद्धि भएको छ उनले भने, ‘यो भन्दा चार महिनाअघि साढे ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भएको छ । यसमा कार्टेलिङ भएको छ । सिण्डिकेट भएको छ । यो निर्माण सामग्रीमा र विशेष गरेर सिमेन्टमा भएको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा भन्दा पनि नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने जुन स्थिति छ, यसले निर्माण कार्यमा लागत मूल्य बढिरहेको छ ।
एकातिर राज्यले पुँजीगत खर्च बढाउन सकिरहेको छैन । अर्कोतिर भएका विकास निर्माणका काममा पनि यस खालको मूल्यवृद्धिले लागत मूल्य बढ्ने र राज्यलाई बढी व्ययभार बढ्ने स्थिति भएको कारणले सरकारले छिटो भन्दा छिटो यसको समाधान गर्नुपर्छ ।’
सांसद सार्कीले मूल्यवृद्धिले लागत मूल्य बढ्ने र राज्यलाई बढी व्ययभार बढ्ने स्थिति रहेको बताए।सार्वजनिक लेखा समितिले पनि छलफल गरेर मूल्य घटाउन सरकारलाई निर्देशन दिइसकेको छ ।