माघ २१ :

राष्ट्रिय सभामा नेकपा एमाले सांसद गोपाल भट्टराईले देशमा लगानीको वातावरण सिर्जना गर्न र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको दाबी गरेका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा उनले विगतमा सदन बन्द गरेको भोलिपल्टै पार्टी फुटाउन अध्यादेश ल्याइएको उदाहरण दिँदै अध्यादेशको नियत सही हुनुपर्ने धारणा राखे ।

उनले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको विरोध गर्नु उचित नहुने बताए । कानुन झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरु महिनौँ रोकिनेलगायत झन्झट धेरै भएकाले अध्यादेश ल्याइएको उनको भनाइ छ ।

‘विगतमा आज सदन बन्द गर्ने र भोलि अध्यादेश ल्याएर पार्टी फुटाउने काम भएको होइन र ? मलाई त अचम्म के लाग्छ भने अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको सबैभन्दा बढ्ता विरोध गरेको छ । ल्याउनु हुँदैन थियो भन्न मिल्छ र ? सरकारले जनतालाई केही डेलिभरी दिनुपर्ने आवश्यकता देख्यो र अध्यादेश ल्यायो । हामीले सदनमा भनेका हौं, कानुन झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरु महिनौँ रोकिने लगायतका झन्झट धेरै भयो,’ उनले भने, ‘लगानीकर्ता आकर्षित हुन सकेनौँ भन्यौँ । त्यसको लागि सात दिनभित्र टुंगो लगाउनुपर्छ भन्दा बेठीक भयो र ?’

सांसद भट्टराईले अध्यादेश ल्याइयो भन्नुभन्दा अध्यादेश कार्यान्वयनमा जोड दिन सरकारलाई दबाब दिनुपर्ने धारणा राखे ।