कास्की, माघ २१ :

विश्व सिमसार दिवसका अवसरमा पोखराको फेवातालमा २५ हजार माछाका भुरा छोडिएको छ ।

पोखरा महानगरपालिका ६ को एक लाख ५० हजार रुपैयाँको सहयोगमा पोखरा १८, सराङकोटस्थित फेवा हर्पन खोला मत्स्य सहकारी संस्थाले माछाको भुरा छोडेको हो । तालमा सल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प, नैनी र रहु जातका माछाका भुरा छोडिएको हो ।

तालमा माछाका भुरा छोड्दै पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले दशकौंदेखि फेवातालमा आश्रित जलारी समुदायको आयस्तर वृद्धि गर्न प्रयास गरेको बताए । उनले गत वर्ष पनि एक लाख रुपैयाँ बराबरका माछाका भुरा छोडेपछि जलारी समुदायले राम्रो आम्दानी गरेको र पोखरा महानगरपालिकाले पनि दोब्बर राजस्व आम्दानी गरेको जानकारी दिए ।

तालमा अवैध रुपमा माछा मार्ने कार्य रोक्न सबैको सहयोग आवश्यक रहेको भन्दै उनले माछा संरक्षणमा के-के गर्न सकिन्छ त्यसतर्फ पनि ध्यान पुर्‍याउनुपर्नेमा जोड दिए । तालका जलकुम्भी झार हटाउने कार्यमा वडाले नै काम गर्ने उनको भनाइ छ ।

वडाध्यक्ष भट्टराईले वडाले यस कार्य आगामी वर्षमा पनि निरन्तर गर्ने भन्दै लोपोन्मुख जलारी समुदायको हरेक दुःख सुखमा आफूले साथ दिने प्रतिबद्धता जनाए ।

तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्न जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२१ अगस्त ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो ।

सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्त्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ ।

कुल १७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्त्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र) मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ । सिमसार क्षेत्र भन्नाले प्राकृतिक अथवा कृत्रिम रुपले सिर्जना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ ।