काठमाडौं, माघ २३ :

नमस्कार, म प्रिती राई, राष्ट्रिय फुटबल खेलाडी
तपाईं-हामी सबैजना निरोगी रहनु जरुरी छ । अझ हामी खेलाडीहरु त सधैँ तन्दुरुस्त रहनुपर्छ ।

आज म तपाईंहरुलाई महिलाको स्वास्थ्यबारे असाध्यै महत्त्वपूर्ण कुराहरु सुनाउँदै छु । यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरी नै सञ्चालन हुने एचपीभी खोप अभियानको बारेमा तपाईंलाई थाहा छ ?

सुन्नुहोस्.. यो खोप महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध दिइन्छ । नेपालमा यो रोगबाट हरेक दिन चारजना महिलाको मृत्यु हुने गरेको डरलाग्दो तथ्यांक छ । नेपालमा क्यान्सरको कारणले हुने महिलाहरुको मृत्युमध्ये पाठेघरको मुखको क्यान्सर नै मुख्य कारण देखिएको छ ।

एचपीभी खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा यो रोग लाग्नबाट बच्न सकिन्छ । त्यसैले यस अभियानमा नेपाल सरकारले कक्षा ६ देखि कक्षा १० सम्मका सबै छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई यो खोप दिँदै छ ।  

यो खोप मुख्यतः विद्यालय केन्द्रित खोप केन्द्रहरुबाट दिइने भएकाले आ-आफ्नो विद्यालय वा नजिकैको विद्यालयमा सम्पर्क गरि एचपीभी खोप लगाउन अनुरोध गर्दछु ।

एचपीभी खोप लगाऔं । पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरुलाई सुरक्षित राखौँ ।