
प्रधानमन्त्री केपी ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरु गरिरहेको बताएका छन् ।
देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोपको शुभारम्भ गर्दै मंगलबार उनले नेपाली नागरिक बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको दाबी गरे । उनले निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले आफूले खाने खाना पेट भर्न मात्रै नभइ स्वस्थ रहनका लागि खानुपर्ने बताए । उनले स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताए ।
‘हामीले निरोगी नेपालको नारा लिएका छौँ । यसका दुईवटा पक्ष छन् । मानिस बिरामी नै हुन नपरोस्, स्वस्थ रहोस् । त्यसका लागि हामीले व्यापक प्रयासहरु, बहुआयामिकपक्षबाट व्यापक प्रयास गर्छौं । मान्छे रोगी नहोस्, बिमारी नहोस् । यसका निम्ति मानिसको आहार-बिहारको मात्रै कुरा होइन । खाना भनेको पेट भर्ने मात्र होइन, स्वस्थ खाना हो । खाना भनेको स्वस्थ मात्रै होइन, पुग्दो, सन्तुलित र ठिक्क मात्रामा पनि हो,’ ओलीले भने, ‘स्वस्थ खाना, सन्तुलि त खाना, आवश्यक मात्रामा खाना हुनुपर्छ । पेट भर्नका लागि खाना खाने होइन, स्वस्थ रहनका लागि खाना खाने हो । निरोगी नेपालको कन्सेप्ट यसमा आधारित छ । यसको अर्थ, हामीले उत्पादन गर्ने अन्नबालीमा छ । खानेकुराहरु जो उत्पादन गर्छौं त्यसको स्वस्थतामा छ ।’
स्वस्थ रहन सबैभन्दा पहिला व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले बिरामी हुनै नदिने कुरा महत्त्वपूर्ण रहेको पनि बताए । सन् २०३० सम्म पाठेघरको क्यान्सरविरुद्धको अभियानलाई पूर्ण रुपमा सफल बनाउने प्रतिबद्धता जनाए ।