
निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू गरेका छन् ।
गोरखा दरबारमा पुजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै मंगलबार छायाङ्कन सुरू गरिएको हो ।
निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको छायाङ्कन गोरखा आसपासमा २५ दिनसम्म गरिने छ ।
अहिलेको समाजको तीतो यथार्थलाई दर्शक समक्ष पुर्याउने कथा तयार भएको छ । मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको चलचित्रमा नयाँ र पुरानो दुवै पुस्तासँग काम गर्न पाउँदा उत्साहित रहेको उनले बताए ।
यस चलचित्रबाट निर्देशक घिमिरेकी छोरी पञ्चमी घिमिरेले अभिनयको सुरुआत गरेकी छिन् । चलचित्रकर्ममा छोरीको आगमनले आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताए ।
चलचित्रमा नागरिकको दायित्व र देशको आवश्यकतालाई चित्रण गरिएको छ । ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन् ।
चलचित्रमा विपीन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दै छन् । रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन् ।