
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग आग्रह गरेकी छिन् ।
हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा राणाले गए राति इरानी विदेशमन्त्री अराघ्चीसँग फोनवार्ता गरेकी हुन् ।
टेलीफोनवार्तामा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले जोशीको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेको छ ।
हमासको नियन्त्रणबाट जोशीलाई मुक्त गर्न सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले अघिल्लो साता इजिप्ट लगायतका विदेशमन्त्रीसँग पनि टेलीफोनवार्ता गरी जोशीको रिहाइका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् ।
जोशीको रिहाइका लागि सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तरराष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास जारी राखेकी छिन् ।