काठमाडौँ, माघ २६ :

आजबाट भ्यालेन्टाइन सप्ताह सुरु भएको छ । भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा पर्छ । भ्यालेन्टाइन सप्ताह अन्तर्गत आज पहिलो दिन रोज डे का रुपमा मनाइन्छ ।

विशेष गरि युवायुवतीहरूले यो सप्ताह हरेक दिन नयाँ उत्सवका रूपमा मनाउँने गर्दछन् । 

यो दिन जोडीहरूले एक अर्का साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न गुलाफको फूल दिने गर्दछन् ।

रोज डे प्रेम जोडीहरूको लागि मात्र नभइ, मित्रता, सद्भाव र शान्तिको प्रतीक पनि मानिन्छ । यसले सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिन्छ ।

रोज डेको सुरुवातको बारेमा कुनै आधिकारिक जानकारी नभएपनि युरोपको मध्ययुगीन प्रेम परम्परासँग जोडिएको छ। त्यस समयमा, प्रेमीहरूले आफ्ना प्रेमिकाहरूलाई फूल दिएर र प्रेमपत्रको मद्दतले आफ्नो प्रेम व्यक्त भएकाले त्यसबेलादेखि भ्यालेन्टाइन सप्ताहका रुपमा बिस्तारै पश्चिमी देशहरूमा पनि उत्पत्ति भएको पाइन्छ ।

रोमन राजा क्लाउडियस द्वितीयको शासनकालमा, सेन्ट भ्यालेन्टाइनले प्रेम र विवाहलाई प्रवर्द्धन गर्न निक्कै सङ्घर्ष गरेको विश्वास गरिन्छ । त्यसै कारण उनलाई सजाय दिइएको  र उनको प्रेम र बलिदानको सम्झनामा यसलाई भ्यालेन्टाइन सप्ताहको रूपमा मनाउन थालिएको उल्लेख छ ।

भ्यालेन्टाइन सप्ताहमा मनाइने दिनहरू
फेब्रुअरी ७ - रोज डे
फेब्रुअरी ८ - प्रपोज डे
फेब्रुअरी ९ - चकलेट डे
फेब्रुअरी १० - टेडी डे
फेब्रुअरी ११ - प्रमिस डे
फेब्रुअरी १२ - हग डे
फेब्रुअरी १३ - किस डे
फेब्रुअरी १४ - भ्यालेन्टाइन डे