
कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि आज (शनिबार) सातै प्रदेशमा निर्वाचन हुँदैछ ।
परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताहरूको निर्वाचन मण्डलबाट एक जनाका दरले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्हरूको चयन गर्नुपर्ने व्यवस्था अनुसार आज निर्वाचन हुन लागेको हो ।
बागमती प्रदेशको मतदान बिहान १० बजेदेखि अपहरान्न ४ बजेसम्म सर्वोच्च अदालत परिसरमा निर्वाचन हुनेछ ।
बागमती प्रदेशका पार्षद् डा चन्द्रकान्त ज्ञवालीका अनुसार मुलुकभर परिषद्को पार्षद् छनोटका लागि ११ हजार मतदाताले मतदान गर्न पाउने छन् ।
बागमतीमा मात्रै आठ हजार दुई सय मतदाता रहेका जनाउँदै उनले परिषद्बाट हालसम्म ३१औँ परीक्षाबाट पास भएका सम्पूर्ण कानुन व्यवसायीले मतदान गर्न पाउने उल्लेख गरे ।
बागमती प्रदेशका लागि प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी दिएका छन् ।
महान्यायाधीवक्ताको अध्यक्षतामा रहने कानुन व्यवसायी परिषद्को उपाध्यक्षमा नेपाल बार एशोसियसनको निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयको डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुनेछन् । परिषद्को पार्षद्को पदावधि पाँच वर्षको हुनेछ ।