
भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा सेतो अन्डा भित्रिएपछि चितवनको अन्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापालक किसानहरु अहिले भने निराश बनेका छन् ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अन्डा भित्रिएपछि बजार प्रभावित भएको हो ।
पोखरेलले किसानले लागत मूल्य पाएर केही हदसम्म राहत पाउन थालेको बेला एकाएक भारतीय अन्डा भित्रिएपछि बजारमा समस्या देखिएको बताए । यसअघि पनि बेलाबेलामा समस्या आउँदा गृह प्रशासनको ध्यानाकर्षण गराएपछि समस्या केही हदसम्म समाधान हुने गरेको उनको भनाइ छ ।
संघका महासचिव भेषराज अर्यालका अनुसार एक महिना अघिसम्म प्रतिक्रेट (३० वटा) अन्डाको फार्म मूल्य ५१५ रुपैयाँमा बिक्री भएकामा यो रेट घटेर ३७० रुपैयाँमा झरेको थियो ।
माघ २१ गतेदेखि ठुला अन्डा प्रतिक्रेट ४०० रुपैयाँ पुगेको छ भने मझौला ३८५ रुपैयाँ छ । मुख्य रूपमा भारतीय अन्डाको प्रवेशसँगै पर्यटकको आगमनमा कमी, स्कुल, कलेजमा जाडो बिदा, बढी जाडो, स्वस्थानी व्रतलगायत कारण अन्डाको मूल्यमा गिरावट आएको अर्याल बताउँछन् । क्रमशः बजार सुधार भएर मूल्य बढ्न थालेको भन्दै उनले सीमा क्षेत्रमा कडाइ गरिएमा अन्डाले लागत मूल्य पाउने बताए ।
अन्डा उत्पादन र बजारीकरण गर्दै आएका युवा व्यवसायी अमोद खनालका अनुसार नेपालमा अन्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ पर्न आउँछ । लामो समय अन्डाले मूल्य नपाउँदा धेरै किसान विस्थापित भइसकेको उनी बताउँछन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार सीमा क्षेत्रबाट कुनै पनि अवैध वस्तु भित्र्याउन पाइन्छ । गुनासो आएको भन्दै कडाइका साथ रोक्न निर्देशन दिइसकिएको उनले बताए । उनले भने, ‘अन्डाका विषयमा गुनासो आएको छ । यससम्बन्धी ध्यानाकर्षण भएर आवश्यक निर्देशन भइसकेको छ ।’
खुला सिमाना भएकाले काममा कठिनाइ भएको भन्दै उनले यद्यपि मिलेमतोमा अवैध रूपमा अन्डा भित्रन नदिइने बताए । नेपालमा अहिले दैनिक ३२ लाख गोटा हाराहारी अन्डा उत्पादन हुँदै आएको अनुमान छ ।