काठमाडौं, माघ २८ :

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरु गम्भीर नहुँदा कानुन निर्माण हुन नसकेको बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले राजनीतिक पार्टीका कारणले कानुन निर्माण नभएको दाबी गरे । उनले संसद्‌ले कानुन निर्माण गर्न नसकेको भन्ने कुरा सत्य नरहेको बताए । अहिलेसम्म पनि आधारभूत संविधान कार्यान्वयन गर्ने कानुन बनाउन नसक्नु दुःखको विषय भएको पनि उनको भनाइ छ । उनले संविधान कार्यान्वयन नगर्ने अनि प्रणालीलाई दोष दिएर उम्किने काम गर्न नहुने बताए ।

‘संसद्‌ले कानुन निर्माण गर्न नसकेको होइन । गम्भीर भएर राजनीतिक पार्टीहरुले सोच्नुपर्छ । राजनीतिक पार्टीका कारणले कानुन निर्माण नभएको हो । संसद भनेको कुर्सी र टेबल होइन,’ उनले भने ‘त्यहाँ राजनीतिक पार्टीहरु छन् । ती पार्टीहरुका कारणले कानुन निर्माणमा गम्भीरताका साथ काम नगरिदिएका कारणले संसद्‌ले कानुन निर्माण गर्न सकेन । यत्तिका समयसम्म पनि आधारभूत संविधान कार्यान्वयन गर्ने कानुन बनाउन सकेका छैनौँ । आज आएर प्रणालीलाई दोष दिने ।’

उनले संविधानको कार्यान्वयन नै नगरी पुनरावलोकनको कुरा नआउने बताए ।